सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त कारबाही: १६० किलो गाँजासहित कार चालक पक्राउ
17 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन ५ गते । पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। सोमबार मधुवनीचोकतर्फ आउँदै गरेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकी स्वीफ्ट कार चेकजाँच गर्दा चालक बुद्धिलाल घलानसहित १६० किलो गाँजा बरामद भएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीका अनुसार, कारको डिक्कीबाट प्याकिङ गरेको गाँजा फ्याँक्ने क्रममा चालकलाई पक्राउ गरिएको थियो। घलानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा पठाइएको छ। पक्राउ परेका चालकको साथबाट २२ हजार ५०० रुपैयाँ नगद र रियलमी कम्पनीको स्मार्टफोन पनि बरामद भएको छ।
यो घटनाले सीमा क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणमा सुरक्षा निकायहरूको सक्रियता बढेको देखाउँछ। थप अनुसन्धान भइरहेको र तस्करीको सञ्जाल पत्ता लगाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments