रौतहटमा ब्राउनसुगरसहित चार जना पक्राउ
17 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन ४ गते । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित गणेश चोकबाट प्रहरीले आइतबार साँझ लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले चन्द्रपुर–१ बागमतीका ३२ वर्षीय तुलबहादुर लामा, उदयपुर घर भएकी २३ वर्षीया प्रिया तामाङ, चन्द्रपुर–४ का ३५ वर्षीय राजबलम पाख्रिन मगर तथा २९ वर्षीय प्रशान्त तामाङलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक जाँचका क्रममा लामाको शरीर खानतलासी गर्दा जिन्सको खल्तीबाट ब्राउनसुगर सेवनमा प्रयोग हुने सामग्री फेला परेपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
लामाको बयानका आधारमा प्रहरीले अन्य तीन जनालाई पक्राउ गरेको डीएसपी रुपा लाबुङले जानकारी दिइन्। प्रहरी टोलीले उनीहरू बस्दै आएको स्थानबाट ब्राउनसुगर तौल गर्ने मेसिन तथा लागुऔषध राख्न प्रयोग गरिने सामग्री समेत बरामद गरेको छ। थप सोधपुछका क्रममा चन्द्रपुर–१ स्थित एक घरको कोठामा लुकाइराखिएको लागुऔषधबारे सूचना पाएपछि प्रहरीले अनुसन्धान विस्तार गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments