कारागारबाट बन्दुक र गोली बरामद : १३ कैदी प्रहरी हिरासतमा

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, माघ २७ गते ।  सिरहा सदरमुकामस्थित जिल्ला कारागारबाट सोमबार बन्दुक र गोली बरामद भएको छ। जिल्ला सुरक्षा समितिले गरेको अनुगमनका क्रममा कारागारभित्र एक थान बन्दुक र दुई राउन्ड गोली फेला परेको हो। यसैगरी, कारागारभित्र प्रतिबन्धित पदार्थ चुरोट, सुर्ती लगायतका सामग्री पनि बरामद गरिएको छ।

घटनामा संलग्न रहेको आरोपमा कारागारका नाइके इन्द्रजित यादवसहित १३ जना कैदीहरूलाई कारागारबाट निकालेर प्रहरी हिरासतमा ल्याइएको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उनीहरूलाई अन्यत्र कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले उनीहरूलाई कारागारबाट झिकेर हिरासतमा राखेका छौं। उनीहरूलाई अन्यत्र पठाउँछौं।”

कान्तिपुर दैनिकले गत वर्ष कारागारभित्र प्रहरी प्रशासनकै मिलेमतोमा मदिरा, लागुऔषध कारोबार, फोन प्रयोग तथा चन्दा असुली जस्ता अवैध गतिविधिबारे प्रमाणसहित समाचार प्रकाशित गरेको थियो। सो समाचारपछि नेपाल प्रहरीका डीएसपीको नेतृत्वमा गठित छानबिन समितिले ९० पेजको विस्तृत प्रतिवेदन जिल्ला सुरक्षा समितिसमक्ष पेस गरेको थियो। तर, प्रतिवेदन कार्यान्वयनमा आलोचना बढेपछि प्रशासनले सोमबार कारागारमा अपरेसन चलाएको हो।

यो घटनाले सिरहा कारागारभित्रको सुरक्षा व्यवस्थापन र प्रशासनिक कमजोरीलाई फेरि एकपटक उजागर गरेको छ। थप अनुसन्धान तथा कारबाही प्रक्रिया जारी रहेको जिल्ला प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?