सप्तरीमा स्रोत नखुलेको १३ लाखसहित एकजना पक्राउ

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, माघ २६ गते ।  सप्तरीको बलानबिहुल गाउँपालिका–४ स्थित बेल्ही–चन्ही सडक खण्डबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नेपाली नगदसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ घर भएका २३ वर्षीय हरिशंकर कुमार साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार आइतबार बेल्हीदेखि चन्हीतर्फ जाँदै गरेको प्र०२–०१–००२प४४८१ नम्बरको मोटरसाइकलमा फिल्टर बक्स र हेलमेटभित्र लुकाइछिपाइ राखेको अवस्थामा १ हजार र ५ सय दरका नोटहरू गरी कुल १३ लाख रुपैयाँ बरामद भएको थियो। स्रोत नखुलेको उक्त रकमसहित साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भारतीय सीमासँग जोडिएको यो क्षेत्रमा हुण्डी, लागुऔषध तथा अवैध नगद कारोबार बढ्दै गएको सूचनाका आधारमा प्रहरीले निगरानी तीव्र पारेको छ। पक्राउ परेका साहमाथि मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ। थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?