रौतहटमा सिआइबी असई बनेर लाखौं ठगी गर्ने महिला पक्राउ
16 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ २६ गते । आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की असई भन्दै सर्वसाधारणलाई झुक्याएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका–१०, सलेमपुरकी २५ वर्षीया नेहा, निशा, पुनमकुमारी भन्ने निर्मला महतो रहेकी छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङ्गका अनुसार महतोले विभिन्न व्यक्तिलाई सिआइबी असई भएको, भन्सार तथा प्रशासनमा राम्रो पहुँच भएको झुटो दाबी गर्दै आपराधिक विश्वासघात र आपराधिक लाभ लिएकी थिइन्। उनले सर्लाही लालबन्दीका राजेश्वर साहलाई सस्तोमा भन्सारबाट स्कारपियो गाडी निकालिदिने प्रलोभन देखाई पटक–पटक गरेर १ लाख ५० हजार रुपैयाँ ठगी गरेकी थिइन्।
महतोले चन्द्रपुरका सन्तोषबहादुर विश्वकर्माको ज्वेलर्स पसलमा २ लाख ७४ हजारको सुनचाँदी, गुजराका विजय साह बनियाँबाट घरायसी समस्या देखाई ५ लाख नगद, चन्द्रपुरका प्रविण साहको किराना पसलमा उधारो सामान तथा स्कारपियो गाडी भाडामा लिएर १ लाख २६ हजार बराबर ठगी गरेको अनुसन्धानबाट खुलेको छ। उनले लालबन्दीका राजेश्वर साहकी श्रीमती पुनम कुमारीको सक्कल नागरिकता र फोटो प्रयोग गरी चन्द्रनिगाहपुरबाट राष्ट्रिय परिचयपत्र बनाएकी थिइन् र सोही आधारमा माछापुच्छ्रे बैंक चन्द्रपुर शाखामा पुनम कुमारीको नाममा खाता खोलेर चेक काटेर थप ठगी गरेकी थिइन्। माघ ४ गते चन्द्रपुरबाट पक्राउ गरिए पनि उनको वास्तविक परिचय खुल्न २० दिन लागेको थियो। पक्राउ परेकी महिलामाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments