१०औँ टी–२० विश्वकपमा नेपालको ऐतिहासिक सुरुवात : प्रधानमन्त्री सुशीला कार्कीको शुभकामना

17 घन्टा पहिले प्रकाशित

काठमाडौं, माघ २५ गते ।  १०औँ संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपालले इंग्ल्यान्डविरुद्ध ऐतिहासिक खेल खेल्दैछ। मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुने यो खेलमा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली टोलीलाई जीतको शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले भन्नुभयो, “आज मुम्बईको वानखेडे स्टेडियममा नेपालको राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रदर्शन गर्नेछ भन्ने विश्वास छ।”

तेस्रोपटक टी–२० विश्वकप खेलिरहेको नेपाललाई विश्वभरका प्रशंसकहरूको साथ र विगतका सफलताहरूको आड रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सिङ्गो देशको तर्फबाट शुभकामना दिनुभयो। समूह ‘सी’ मा रहेको नेपालले समूह चरणका अन्य खेलहरूमा वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगिता फागुन २४ गते (मार्च ८) सम्म चल्नेछ। अहिलेसम्म ६ टोलीले टी–२० विश्वकपको उपाधि जितेका छन् : भारत, इंग्ल्यान्ड र वेस्ट इन्डिजले २–२ पटक तथा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलियाले १–१ पटक।

नेपालले इंग्ल्यान्डविरुद्धको यो खेललाई क्रिकेट इतिहासमा सुनौलो अक्षरले लेख्ने अवसरका रूपमा हेरेको छ। देशभरका क्रिकेट प्रेमीहरूले टोलीलाई पूर्ण समर्थन जनाउँदै विजयको कामना गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?