लालबन्दीमा लघुवित्त संस्थामा लुटपाट, कर्मचारी घाइते
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ २३ गते । सर्लाहीको लालबन्दी बजारस्थित छिमेक लघुवित्त वित्तीय संस्थामा बिहीबार अपरान्ह लुटपाट भएको छ। लालबन्दी नगरपालिका–७ मा रहेको शाखा कार्यालयमा मुखमा कालोपट्टी बाँधेर आएका चार–पाँच जनाको समूहले चक्कु देखाएर लुटपाट गरेका हुन्। प्रहरीका अनुसार ऋण निकालेर बाहिर निस्कँदै गरेकी हरिवन नगरपालिका–१० की कल्पना थापाको साथबाट ८५ हजार रुपैयाँ र लघुवित्तका कर्मचारीसँग रहेको दुई हजार रुपैयाँ लुटेर उनीहरू फरार भएका छन्। घटनाका क्रममा चक्कु प्रहारबाट एक जना कर्मचारी सामान्य घाइते भएका छन्।
नकापधारी लुटेराहरूले कर्मचारी र सेवाग्राहीलाई भित्रै थुनेर सीसीटिभीको हार्डडिस्कसमेत लुटेर लगेका सर्लाही प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो। घटनाको अनुसन्धान जारी रहे पनि शुक्रबार बिहानसम्म संलग्न व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। जिल्लाकै प्रमुख व्यापारिक केन्द्र लालबन्दीमा भएको यस घटनाले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी र सर्वसाधारणमा त्रास फैलिएको छ।
कमेन्ट गर्नुहोस्
view comments