सुनचाँदी चोरी गर्ने अभियुक्त गोली प्रहारपछि पक्राउ
21 घन्टा पहिले प्रकाशित
काठमाडौं, माघ २२ गते । काठमाडौंको बौद्ध क्षेत्रमा सुनचाँदीका गरगहना चोरी गर्ने एक जनालाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–६ महांकालबाट गएराति विकास भन्ने प्रेम थारूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिनुभयो। पक्राउको क्रममा प्रहरीसँग झडप भएपछि थारूको खुट्टामा गोली प्रहार गरिएको हो। उनीमाथि करिब ६५ तोला सुनका गरगहना चोरी गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो बौद्धस्थित कुमारीगालको एक पाँचतले घरबाट ४२ तोला सुनचाँदीका गहना चोरी भएको थियो। घरका सदस्यहरू छतमा रहेको बेला चौथो तलाको कोठाको ढोका फोडेर चोरी गरिएको अवस्थामा फेला परेको थियो। सो घटनामा पनि थारूकै संलग्नता रहेको आशंका गरिएको छ। पक्राउ परेका अभियुक्तबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments