११ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी मिठु साफी धोबी पक्राउ

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, माघ २० गते । सिरहा प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न भई विगत ११ वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ गरेको छ। वि.सं. २०७१ सालदेखि फरार रहेका साविक औरही गाउँ विकास समिति वडा नं. ८ (हालको स्थानीय तह अनुसार) का ५६ वर्षीय मिठु साफी धोवीलाई प्रहरीले गत माघ १५ गते गाउँघरमै लुकीछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।घटना विवरण अनुसार वि.सं. २०७१ भदौ १९ गते बिहान स्थानीय ४५ वर्षीय डोमा सदाय आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए। मृतककी पत्नी अमोलिया देवी सदायले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान गर्दा घटना भएको रात मिठु साफी र डोमा सदायबीच मादक पदार्थ सेवन गरी विवाद र झैझगडा भएको तथ्य खुलेको थियो।

हत्याको आरोप लागेपछि फरार भएका मिठुलाई जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले लामो समयपछि खोजतलास गरी पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका उनलाई माघ १९ गते सिरहा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ। प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेश बहादुर पालका अनुसार घटनाको विषयमा थप कानुनी अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?