जागिरको प्रलोभन देखाएर नेपाली युवकलाई भारतमा बन्धक बनाई २ लाख ४७ हजार असुल्ने गिरोहका दुई सदस्य पक्राउ
16 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ २० गते । सिरहा जिल्ला प्रहरीले भारतको बिहारमा जागिर लगाइदिने प्रलोभन देखाएर नेपाली युवकलाई बन्धक बनाई रकम असुल्ने गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू कल्याणपुर नगरपालिका–७ भेडियाका २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ पररिया चोकका २२ वर्षीय प्रशान्त चौधरी हुन्। घटनाको विवरण अनुसार प्रतिवादीहरूले कल्याणपुर–७ का २८ वर्षीय रिशकेश कुमार मरिकलाई अनलाइनमार्फत सम्पर्क गरी भारतको गयास्थित एक कन्स्ट्रक्सन कम्पनीमा राम्रो काम लगाइदिने बहाना बनाएका थिए।
गत पुस २० गते मरिकलाई भारतको बोधगया पुर्याएर होस्टलमा बन्धक बनाइएको थियो। त्यहाँ उनको मोबाइल, शैक्षिक प्रमाणपत्र खोसेर कोठामा थुनेर कुटपिट तथा मानसिक यातना दिइएको थियो। ज्यान मार्ने धम्की दिएर परिवारबाट क्युआर कोड र बैंक खातामार्फत २ लाख १७ हजार २०० रुपैयाँ असुली सकेपछि मरिकसँग रहेको ३० हजार भारु नगद पनि लुटिएको थियो। तालिमका नाममा आपराधिक क्रियाकलाप सिकाउन थालेपछि मरिक ज्यान जोगाएर नेपाल भाग्न सफल भएका थिए। उनले माघ १५ गते जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो। सोही क्रममा सुरज मुखियालाई माघ १६ गते कल्याणपुरबाट र प्रशान्त चौधरीलाई माघ १७ गते लहानबाट पक्राउ गरिएको छ। प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालका अनुसार पक्राउ परेका दुवैमाथि शरीर बन्धक सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments