महोत्तरीमा लुटपाट र लागुऔषध गिरोह पक्राउ: घाइतेलाई धारिलो हतियार प्रयोग गरी मोटरसाइकल लुटपाट
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, माघ १६ गते । महोत्तरीको गौशाला क्षेत्रमा लुटपाट, चोरी र लागुऔषध कारोबारमा संलग्न एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गौशाला नगरपालिका–१२ का विशेश्वर सिंहलाई बुधबार राति धारिलो फलामको हतियार प्रयोग गरी आक्रमण गरेर घाइते बनाई मोटरसाइकल र मोबाइल लुटपाट गर्ने तीन जनाको समूहलाई लुटिएको मोटरसाइकलसहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
घाइते सिंहको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। ज.५ प ४३२४ नम्बरको डिस्कभर मोटरसाइकल लुटपाट गरेको आरोपमा गौशाला–१२ का १८ वर्षीय निर्मल साह, १८ वर्षीय नितेश कुमार कुशवाहा र १८ वर्षीय मनिष रामलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार पक्राउ परेका तीनै जना पटक–पटक लुटपाट र लागुऔषध मुद्दामा पक्राउ परिसकेका दोहो¥याइने अपराधी हुन्।
उनीहरूले घरेलु हतियार प्रयोग गरी सुनसान घर, सडक र बजार क्षेत्रमा आक्रमण गरी लुटपाट गर्ने गरेको आरोप छ। इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाले बताएअनुसार गौशाला क्षेत्रबाट दिनहुँ मोटरसाइकल चोरी भइरहेको गुनासो आउने गरेको थियो। पक्राउ परेका तीनै जनालाई चोरीमा संलग्न अन्य व्यक्तिहरूबारे पनि सोधपुछ भइरहेको छ। उनीहरूलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको छ।
यो घटनाले गौशाला क्षेत्रमा बढ्दो लुटपाट र युवा अपराधलाई नियन्त्रण गर्न प्रहरीले थप सक्रियता बढाउनुपर्ने आवश्यकता औंल्याएको छ। स्थानीयबासीले यस्ता घटनाबाट त्रसित बनेको बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments