बर्दिबासमा गुप्ताङ्गमा लुकाएर ब्राउन सुगर ओसारपसार गर्दै गरेका दुई पक्राउ: ५१.९२० ग्राम लागुऔषध बरामद
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, माघ १६ गते । बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकलमा विशेष तस्करीको शैली अपनाउँदै ब्राउन सुगर ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–५ का २८ वर्षीय महमद गफार अंसारी र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–५ घर भई हाल बर्दिबास नगरपालिका–१ मा डेरा गरी बस्दै आएका ३१ वर्षीय सुनिल कुमार थिङ तामाङ रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले बिहीबार साँझ करिब साढे ७ बजे बीपी राजमार्गमा चेकजाँचका क्रममा ज.९ प २४१२ नम्बरको डिस्कभर मोटरसाइकललाई रोकेर तलासी गरेको थियो। ब्युरो प्रमुख सरोज अधिकारीका अनुसार पछाडि बसेका तामाङको कालो पाइन्टको पछाडिको गोजीबाट कालो प्लास्टिकमा र्याप गरी लुकाइएको ३ पोका ब्राउन सुगर बरामद भयो। त्यसपछि चालक अंसारीको सघन तलासी गर्दा मलद्वारमा सेतो प्लास्टिकमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२.६२० ग्राम (प्लास्टिकसहित) ब्राउन सुगर फेला पर्यो, जसको शुद्ध तौल ४९.०८० ग्राम छ।
करीब ४५ मिनेट लामो तलासीपछि अप्ठ्यारो अंगबाट लागुऔषध बरामद भएपछि प्रहरी टोली नै चकित परेको ब्युरो प्रमुख अधिकारीले बताए। दुवैबाट कुल प्लास्टिकसहित ५६.९२० ग्राम र शुद्ध तौल ५१.९२० ग्राम ब्राउन सुगर बरामद भएको छ। स्रोतका अनुसार यो लागुऔषधको मूल्य बर्दिबास क्षेत्रमा करिब ६ लाख रुपैयाँ र काठमाडौंमा १० लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ।
पक्राउ परेका दुवैजनालाई बरामद मोटरसाइकल र लागुऔषधसहित थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासको जिम्मा लगाइएको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासले जनाएको छ। यो घटनाले लागुऔषध तस्करीमा नयाँ र जोखिमपूर्ण तरिका अपनाइएको देखाउँदै सीमा क्षेत्रमा सुरक्षा जाँचलाई थप कडाइ गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
कमेन्ट गर्नुहोस्
view comments