बारा आमाछोरा हत्या प्रकरणः बुहारी मनिता मण्डल पक्राउ
2 दिन पहिले प्रकाशित
जनकपुरधाम,माघ १५ गते। बारामा भएको आमाछोरा हत्या प्रकरणमा बुहारी मनिता मण्डल पक्राउ परेकी छन्। प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार मनितालाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको छ।
प्रहरीका अनुसार हत्यामा संलग्न अन्य व्यक्तिका विषयमा पनि अनुसन्धान जारी छ। घटनास्थलमा रहेका अन्य प्रमाण संकलन गर्नुका साथै तालिम प्राप्त कुकुरको प्रयोग गरेर खोजतलास भइरहेको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए। पक्राउ परेकी मनिताको शरीरमा भने कुनै चोटपटक देखिएको छैन।
बुधबार बिहान एकै परिवारका आमा सुमिन्त्रा मण्डल र छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रयोग गरी हत्या भएपछि गाउँ शोकमग्न बनेको छ। सोही घटनामा सुमिन्त्राका श्रीमान् जगरूप महतो र छोरी रीना कुमारी घाइते भएका छन्। दुवैको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
घटनाको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। सम्भावित सबै कोणबाट अनुसन्धान भइरहेको र घटनास्थल वरिपरि कडा सुरक्षा व्यवस्था तथा बाक्लो प्रहरी परिचालन गरिएको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments