एकै परिवारका आमाछोराको हत्या: तीन जना गम्भीर घाइते
1 महीना पहिले प्रकाशित
जनकपुरधाम, माघ १४ गते । बाराको परवानीपुर गाउँपालिका–१, रहरियाडी टोलमा एकै परिवारका आमाछोराको हत्या भएको छ। अज्ञात व्यक्तिले बुधबार बिहान करिब ३ बजे धारिलो हतियार प्रयोग गरी मण्डल थरको परिवारमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनामा ५२ वर्षीया आमा र उहाँका ३२ वर्षीय छोरा घटनास्थलमै मृत्यु भएका छन्।
प्रहरीका अनुसार आक्रमणबाट सोही परिवारका थप तीन जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले बताउनुभयो। हत्या कसले र किन गरेको भन्ने खुलेको छैन। प्रहरीले घटनाको गहिरो अनुसन्धान गरिरहेको छ तर अनुसन्धान प्रभावित नहोस् भनेर थप विवरण दिन अस्वीकार गरेको छ। घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने प्रहरीले सुरक्षा सतर्कता कडा बनाएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments