वीरगञ्ज नाकाबाट चालु आवको छ महिनामा ९० अर्ब बढीको पेट्रोलियम आयात: राजस्वमा उल्लेखनीय वृद्धि
24 दिन पहिले प्रकाशित
जनकपुरधाम, माघ १३ गते । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो छ महिनामा कुल ९० अर्ब ६ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ८७ अर्ब ३१ करोड मूल्यको आयात भएको तुलनामा यस वर्ष २ अर्ब ७५ करोड बढी पेट्रोलियम पदार्थ आयात भएको हो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार यस अवधिमा पेट्रोलियम पदार्थ आयातबाट ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन गत वर्षको ३६ अर्ब १४ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो।
भन्सारका अनुसार चालु आवको छ महिनामा सबैभन्दा बढी ४५ अर्ब ३८ करोड मूल्यको डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ। त्यसैगरी २० अर्ब ९८ करोड मूल्यको पेट्रोल आयातबाट १३ अर्ब ८२ करोड तथा १४ अर्ब ७९ करोड मूल्यको एलपीजी ग्यास आयातबाट २ अर्ब ७७ करोड राजस्व प्राप्त भएको छ। बढ्दो आयात र राजस्व वृद्धिले मुलुकको ऊर्जा खपत तथा आर्थिक गतिविधिमा सुधार आएको संकेत गरेको छ भने वीरगञ्ज नाकाको व्यापारिक महत्वलाई थप पुष्टि गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments