सर्लाहीमा अवैध आयुर्वेद औषधालयमा पायल्स अपरेसन गर्दा १८ वर्षीया युवतीको मृत्यु
9 दिन पहिले प्रकाशित
जनकपुरधाम, माघ १२ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१, नवलपुरमा अवैध रूपमा सञ्चालित मोहन आयुर्वेद औषधालयमा पायल्स (बवासीर) को अपरेसन गर्दा एक १८ वर्षीया युवतीको मृत्यु भएको छ। लालबन्दी नगरपालिका–२, पुनर्वासकी बिपिन्द्र पासवानकी छोरी हंसु पासवानको उपचारका क्रममा अचेत भएपछि परिवारजन र औषधालय सञ्चालक वैद्य रामविनय साहले उनलाई नमूना अस्पताल हरिवन पुर्याएका थिए। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनापछि स्थानीयबासीले नवलपुर चोकमा टायर बालेर चक्काजाम गर्दै विरोध प्रदर्शन गरेका थिए, जसलाई प्रहरीले सम्झाइबुझाइ गरी साँझ खुलाएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार अपरेसन गर्ने वैद्य रामविनय साहलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख मुमताज मिकरानीले यो औषधालय सञ्चालनका लागि कुनै अनुमति नलिइएको बताउँदै अवैध रहेको पुष्टि गरेकी छन्। वडाध्यक्ष किरणकुमार पासवानले नवलपुर क्षेत्रमा यस्ता अवैध स्वास्थ्य संस्थाले पटक-पटक बिरामीको ज्यान जोखिममा पारेको गुनासो गरेका छन्। केही समयअघि पनि यस्तै संस्थामा विवाद भएको र पूर्व मुख्यमन्त्री सतीशकुमार सिंहले अनुगमन गरी बन्द गराएको भए पनि फेरि सञ्चालनमा आएको स्थानीयले बताएका छन्। यो घटनाले मधेश प्रदेशमा अवैध स्वास्थ्य संस्थाको नियन्त्रण आवश्यक रहेको देखाएको छ।
कमेन्ट गर्नुहोस्
view comments