लायन्स क्लब इन्टरनेसनलद्वारा लालबन्दी आँखा उपचार केन्द्रलाई २ करोड २० लाखभन्दा बढीको अत्याधुनिक उपकरण हस्तान्तरण
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, माघ ८ गते । आँखा उपचार सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित लायन्स क्लब इन्टरनेसनलले लालबन्दीस्थित सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई दुई करोड २० लाख २१ हजार ८६० रुपैयाँ बराबरका अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ।बुधबार आयोजित एक औपचारिक समारोहबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले लालबन्दी नगरपालिका–५ जरुवा पानीमा सञ्चालनमा रहेको केन्द्रलाई उपकरण हस्तान्तरण गर्नुभयो। लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीका अनुसार केन्द्रको स्तरोन्नतिका लागि फेको सर्जरी मेसिन, माइक्रोस्कोप, स्लिट ल्याम्पलगायत आँखाको शल्यक्रिया तथा उपचारमा प्रयोग हुने आधुनिक उपकरण प्रदान गरिएको हो।
उपकरण जडानपछि केन्द्रबाट काठमाडौँस्थित तिलगङ्गा आँखा उपचार केन्द्र सरहको सेवा प्रदान गर्न सकिने डाइरेक्टर बुर्लाकोटीले बताउनुभयो। उहाँका अनुसार अब आँखासम्बन्धी अधिकांश जटिल समस्या तथा शल्यक्रिया सेवा यही केन्द्रबाट सम्भव हुनेछ।नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीको सुविधासम्पन्न भवनमा उपकरण जडान गरी केन्द्रले छिट्टै सेवा सुरु गर्ने तयारी गरेको छ। सो अवसरमा मुख्यमन्त्री यादवले केन्द्रको औपचारिक उद्घाटनसमेत गर्नुभयो।
कार्यक्रममा लालबन्दी रेडक्रसका सभापति ध्रुवप्रसाद घिमिरेले फेको मेसिनमार्फत शल्यक्रिया सेवा सुरु गर्न चिकित्सक तथा प्राविधिकको शीघ्र व्यवस्थापन गरिदिन प्रदेश सरकारसँग आग्रह गर्नुभयो। मुख्यमन्त्री यादवले प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र लापरबाही अन्त्य गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायलाई कडा कदम चाल्न निर्देशन दिनुभयो।प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रायले आँखा उपचार केन्द्रका लागि दक्ष प्राविधिक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै लालबन्दीमा ट्रमा सेन्टर स्थापना गर्न आवश्यक बजेट विनियोजन गरिने जानकारी दिनुभयो।
प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बेची लुङ्गेलीले उपलब्ध उपकरणको प्रभावकारी सदुपयोग गरी आँखाका बिरामीले नियमित र गुणस्तरीय सेवा पाउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो।लायन्स क्लब लालबन्दीका पूर्वअध्यक्ष राजकुमार न्यौपानेका अनुसार केन्द्रले सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली तथा भारतको बिहार क्षेत्रसमेतका करिब १० लाख आँखाका बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ। उपकरण हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारी, हरिपुर नगरपालिका प्रमुख गोपाल पञ्जियार, पूर्वस्वास्थ्य राज्यमन्त्री राम सिंह, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विनोदकुमार शर्मालगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments