बारामा २०३ केजीभन्दा बढी गाँजासहित पिकअप चालक पक्राउ, फरार तीन प्रतिवादी पनि नियन्त्रणमा

20 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुष ३० गते । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१८ बडर्वा क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। मनहरीबाट कलैयातर्फ जाँदै गरेको बीएसी २३४३ नम्बरको पिकअप भ्यानलाई मंगलबार पिलुवा–कलैया भित्री सडकखण्डमा शङ्काका आधारमा रोकि चेकजाँच गर्दा गाडीको पछिल्लो भागमा फल्स बटम बनाई लुकाइछिपाइ ल्याइएको २० पोका गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल २०३ केजी ८५० ग्राम रहेको छ। प्रहरी चौकी जैतापुर र अस्थायी ट्राफिक प्रहरी पोष्ट पिलुवाबाट खटिएको संयुक्त टोलीले गाँजासहित गाडी चालक मकवानपुर मनहरी गाउँपालिका–६ का २४ वर्षीय निशान बहादुर सुनचुरीलाई नियन्त्रणमा लिएको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरा पठाइएको छ भने पिकअप गाडी प्रहरी चौकी जैतापुरमै राखिएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय बारा मातहतका विभिन्न प्रहरी इकाइहरूले अदालतबाट दण्ड–सजाय तोकिएर फरार रहेका तीन जना प्रतिवादीलाई पनि पक्राउ गरेका छन्। पक्राउ पर्नेमा बैंकिङ कसुर मुद्दामा एक करोड रुपैयाँ विगो तोकिएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ स्थायी ठेगाना भई हाल ललितपुर इमाडोल बस्दै आएका ४० वर्षीय श्री तामाङ, लागू औषध मुद्दामा फरार जितपुर सिमरा उपमहानगरपालिका–१६ का २७ वर्षीय उमेश भोलन तथा लेनदेन (विगो) सम्बन्धी मुद्दामा बारागढी गाउँपालिका–६ की ६५ वर्षीया हलिया थरुनी रहेका छन्। उनीहरूलाई सम्बन्धित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?