सर्लाहीमा प्रहरी उच्च अधिकारीसँग पहुँच भएको भन्दै धाकधम्की दिने व्यक्ति पक्राउ
2 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष २९ गते । प्रहरीका उच्च अधिकारीहरूसँग आफ्नो पहुँच रहेको भन्दै धाकधम्की दिने एक व्यक्तिलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिका–६ बेल्डी टोलका २९ वर्षीय रमेश गिरी भनिने झनबहादुर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गिरीले बागमती नगरपालिका–१२ कर्मैयास्थित न्यु कालिका होटल एण्ड गेस्ट हाउसमा पुगेर वितण्डा मच्चाएका थिए। पुस २६ गते दिउँसो प्रेम घिसिङले सञ्चालन गरेको उक्त होटलमा गएका गिरीले खाजा–नास्ता र मदिरा सेवन गरेपछि विवाद सुरु गरेका थिए। होटल सञ्चालकका भाइ लालबहादुर घिसिङ रहेको अवस्थामा गिरीले आफू प्रहरीका उच्च ओहोदाका व्यक्तिसँग निकट रहेको भन्दै धाकधम्की दिएका थिए। उनले होटलमा रहेका व्यक्तिहरूलाई डर त्रास देखाउनुका साथै हातपातको प्रयास पनि गरेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो। पक्राउ परेका गिरीविरुद्ध लालबहादुर घिसिङले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट अभद्र व्यवहार कसूरमा १० दिनको म्याद थप गरिएको छ। उनीमाथि इलाका प्रहरी कार्यालय हरिवनबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
यो घटनाले सामाजिक सञ्जाल वा व्यक्तिगत पहुँचको दुरुपयोग गरेर धाकधम्की दिने प्रवृत्तिलाई प्रहरीले गम्भीरतापूर्वक लिएको देखिन्छ।
कमेन्ट गर्नुहोस्
view comments