सिरहाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर : ६ महिना कैद र १ लाख जरिवाना

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुष २९ गते ।  सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले नगरप्रमुख साहलाई दोषी ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम रु. एक लाख जरिवाना तथा सोही दफाको उपदफा (ख) बमोजिम ६ महिना कैद सजाय सुनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले गत असार ३२ गते सेवाग्राहीसँग रु. एक लाख घुस लिँदै गरेको अवस्थामा नगरपालिका कार्यालयबाटै साहलाई पक्राउ गरेको थियो। कल्याणपुर नगरपालिका–६ मा नाला निर्माण योजनाको काम सम्पन्न भएपछि भुक्तानीको चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग घुस लिएको आरोप थियो। सोही आधारमा अख्तियारले गत साउन २३ गते विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो।

यसै मुद्दामा बयान फेरेको आरोपमा अख्तियारले गत मङ्सिर २६ गते उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जसोदा कुमारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। तर विशेष अदालतले जसोदालाई सफाइ दिएको छ। अदालतले संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको ठहर गर्दै उनलाई आरोपमुक्त गरेको हो।

यो फैसलाले स्थानीय तहका जनप्रतिनिधिहरूमाथि भ्रष्टाचार नियन्त्रणको सन्देश दिएको छ। नगरप्रमुख साहविरुद्धको यो फैसलाले सिरहा जिल्लामा राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चा बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?