पोखरिया क्षेत्रमा चरेससहित दुई जना पक्राउ

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुष २४ गते । पर्साको पोखरिया क्षेत्रबाट प्रहरीले लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिहीबार बिहान बिन्दवासिनी गाउँपालिका–२ अन्तर्गत गर्दील चोकदेखि पूर्व पोखरिया–वीरगन्ज सडक खण्डमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ मुडली बस्ने २० वर्षीय रैयस अली र पोखरिया नगरपालिका–८ जगतपुर बस्ने ५५ वर्षीय मुनिलाल पटेल रहेका छन्। प्रहरीका अनुसार उनीहरूले बोकेको कालो झोलाभित्र पानी खाने १० लिटरका ग्यालनमा घिउ राखेर तल लुकाइएको अवस्थामा चरेस फेला परेको हो। जाँचका क्रममा रैयस अलीबाट १० किलो ६०० ग्राम र मुनिलाल पटेलबाट ११ किलो ४०० ग्राम चरेस जस्तो पदार्थ बरामद गरिएको छ। साथै उनीहरूको साथबाट नगद ४ हजार ४ सय ५० रुपैयाँ र एक थान मोबाइल पनि बरामद गरिएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?