निर्मम हत्या: सागरनाथ वन परियोजनामा वन चौकीदारको टाउको काटेर हत्या, क्षेत्रमा त्रास
3 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष २० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राइटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत एक वन चौकीदारको अत्यन्तै निर्मम ढंगले हत्या भएको छ। परियोजनामा ज्यालादारीमा वन हेरालुको काम गर्दै आएका स्थानीय ४७ वर्षीय रामईश्वर महतोको टाउको काटिएको अवस्थामा शव फेला परेको हो।
प्रहरीका अनुसार मृतकको काटिएको टाउको अझै फेला पर्न सकेको छैन। प्रहरी नायब उपरीक्षक सरोज राईले टाउको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको र घटनाबारे गहिरो अनुसन्धान भइरहेको जानकारी दिए। घटनास्थल आसपासका क्षेत्र सिल गरी प्रमाण संकलनको काम भइरहेको जनाइएको छ।
स्थानीयका अनुसार महतो शनिबार बिहान जङ्गलतर्फ रुख काटिएको आवाज सुनेर घरबाट निस्किएका थिए। दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्दा घरबाट करिब पाँच सय मिटर टाढा जङ्गलमा टाउकोबिनाको शव भेटिएको हो। घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरी तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान अघि बढाएको छ। यस निर्मम हत्यापछि क्षेत्रभरि त्रासको वातावरण फैलिएको छ।
कमेन्ट गर्नुहोस्
view comments