मुख्यमन्त्री यादवको निर्देशन: मधेसमै सस्तो, छिटो र प्रभावकारी उपचारको व्यवस्था गर्नू

5 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुष १८ गते ।  मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आठवटै जिल्लाका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) तथा सम्बन्धित कार्यालय प्रमुखहरूलाई जनताको उपचार आफ्नै जिल्ला वा प्रदेशमै कम खर्चमा, छिटो र छरितो रूपमा हुने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । शुक्रबार कार्यालय प्रमुखहरूलाई बोलाएर उहाँले स्वास्थ्य सेवा आम नागरिकको आधारभूत अधिकार भएकाले सामान्य उपचारका लागि प्रदेशबाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।

मुख्यमन्त्री यादवले अस्पतालहरूको सेवा प्रवाह सुधार, आवश्यक औषधिको नियमित उपलब्धता, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन तथा प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो । बैठकमा जनताको गुनासो, उपचारका क्रममा देखिएका समस्या र सेवाको गुणस्तर सुधारका उपायबारे विस्तृत छलफल भएको थियो । उहाँले सबै मेसु तथा कार्यालय प्रमुखहरूलाई जिम्मेवारीपूर्वक काम गर्दै परिणाममुखी सेवा दिन आग्रह गर्नुभयो ।

प्रदेश सरकारले जनताको स्वास्थ्य सेवामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधार प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?