बालविवाह नियन्त्रणमा कानुन कार्यान्वयन र जनचेतनाको खाँचो

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुष १६ गते । मधेश प्रदेशमा बालविवाहको अवस्था गम्भीर बन्दै गएको भन्दै यसको नियन्त्रणका लागि जनचेतना अभिवृद्धि र छोराछोरीलाई शिक्षित बनाउनु आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय धनुषाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रसँगको समन्वयमा लाइफ नेपालद्वारा आयोजित बालविवाहविरुद्ध प्रहरीको स्वतःस्फूर्त कारबाहीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले कानुनले बालविवाह निषेध गरे पनि यसको कडाइका साथ कार्यान्वयन नहुँदा समस्या बढ्दै गएको उल्लेख गरे । अभिभावकद्वारा गराइने बालविवाह केही घटे पनि २० वर्ष नपुग्दै भागी विवाह गर्ने प्रवृत्ति बढ्दै गएको बताइएको थियो ।

कार्यक्रममा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयकी उपसचिव निर्मला मिश्रले बालविवाह घट्दो देखिए पनि भागी विवाह झनै विकराल बन्दै गएको भन्दै यसको रोकथामका लागि सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ प्रहरी नायव निरीक्षक टेकबहादुर कार्कीले बालविवाहसम्बन्धी सूचना प्राप्त भएमा प्रहरी स्वतःस्फूर्त रूपमा अनुसन्धान गरी स्थानीय सरकारसँग समन्वयमा तत्काल कारबाही अघि बढाउने जानकारी दिनुभयो । साथै, लाइफ नेपालकी पूजा शर्माले सन् २०१९ को राष्ट्रिय स्वास्थ्य सर्वेक्षणअनुसार मधेश प्रदेशमा ५२.५ प्रतिशत र धनुषामा ५८.५ प्रतिशत बालविवाह रहेको तथ्यांक प्रस्तुत गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?