सप्तरीमा तीव्र शीतलहर: तीन पालिकाले विद्यालय बन्द गर्ने निर्णय
8 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुस १५ गते । तीव्र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराज नगरपालिकासहित तीन स्थानीय तहले विद्यालयहरूमा बिदा दिने निर्णय गरेका छन्। राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवले आज जारी गरेको सूचनाअनुसार पुष १६ देखि १८ गतेसम्म तीन दिनका लागि नगरपालिकाभरका सबै विद्यालय बन्द रहनेछन्। त्यसैगरी महादेवा र अग्निसाइर कृष्णासवरण गाउँपालिकाले पनि सोही अवधिका लागि विद्यालयमा बिदा दिएको जनाएका छन्। महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले बिदा दिइएको बताउनुभयो।
यसअघि जिल्लाको डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले पुष १८ गते शुक्रबारसम्म पाँच दिनका लागि विद्यालय बन्द गरिसकेका छन्। बोदेवरसाइन नगरपालिकाले पनि पुष ९ देखि १३ गतेसम्म जाडो बिदा दिएको थियो। सप्तरीमा बिहान बेलुका बाक्लो हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध र पशुपन्छी समेत प्रभावित भएका छन्। चिसोका कारण विभिन्न अस्पतालमा बिरामीको चाप बढेको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिक बिरामी आउने क्रम बढेको र खासगरी रुघाखोकी, ज्वरो तथा दमका बिरामीहरू उपचारका लागि आइरहेको अस्पताल प्रशासनले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments