मजदुरी गर्दै एमबीबीएस उत्तीर्ण दलित विद्यार्थीलाई निरन्तर सहयोग
8 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुस १५ गते । दिनभरि मजदुरी गरी रातको समयमा अध्ययन गरेर एमबीबीएसमा नाम निकाल्न सफल सिरहाका सत्यनारायण साफीलाई अध्ययन खर्चका लागि निरन्तर सहयोग भइरहेको छ। बरियारपट्टी गाउँपालिका–२, श्रीपुरका साफीले मधेशी दलित कोटाबाट पूर्ण छात्रवृत्तिमा एमबीबीएसमा प्रवेश पाएका थिए। नेपाली कांग्रेस मधेश प्रदेशकी नेत्री शर्मिला थापाले सोमबार साफीको घर पुगेर एक लाख पाँच हजार रुपैयाँ सहयोग गर्नुभयो। यसअघि ग्रीन एण्ड क्लिन अभियानकी अभियन्ता आशिका तमाङले एक लाख रुपैयाँ सहयोग गरिसकेकी थिइन्।
घरको कमजोर आर्थिक अवस्थाका कारण दाङको घोराहीमा पढ्न होस्टल, कापीकिताब र अन्य खर्च जुटाउन समस्या भएको विषय सामाजिक सञ्जालमा आएपछि चौतर्फी सहयोगको वातावरण बनेको छ। हर्ट नेपालले पचास हजार रुपैयाँ, बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष महतो, सिरहा नगरपालिका प्रमुख नवीन यादव र नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसैगरी, लहानस्थित लिटिल स्टार विद्यालयले पनि एमबीबीएस र बीएससी नर्सिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल सप्तरीका ओम प्रकाश दास, सिरहाका पार्वती साह र लहानकी मनिषा दासलाई सम्मान कार्यक्रममार्फत आवश्यक सहयोग गर्ने प्रिन्सिपल जेपी साहले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस्
view comments