सर्लाहीका वडाध्यक्ष नागरिकता जालसाजी मुद्दामा पक्राउ
2 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष १४ गते । मलङ्गवा नगरपालिका–७ का वडाध्यक्ष मो. इशा मिकरानीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले आइतबार पक्राउ गरेको छ।
नागरिकतासम्बन्धी कसूर मुद्दामा वडाध्यक्ष मिकरानीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सरोज राईले पुष्टि गर्नुभएको छ।
प्रहरीका अनुसार, वडाध्यक्ष मिकरानीले रामविश्वास राय नामक व्यक्तिलाई झुठो विवरणको आधारमा नागरिकता दिलाएको आरोप लागेको छ। यसै आरोपमा प्रहरीले आइतबार दिउँसो उनलाई पक्राउ गरी अनुसन्धान थालेको हो।
सर्लाही जिल्ला अदालतबाट आइतबार नै दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी राईले जानकारी दिनुभयो। झुठो विवरणको आधारमा नागरिकता जारी गर्ने प्रक्रियामा वडाध्यक्ष मिकरानीको प्रत्यक्ष संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ।
यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले गत बैशाख २२ गते नै प्रहरीलाई निर्देशन दिएको थियो। त्यसको करिब आठ महिनापछि प्रहरीले वडाध्यक्षलाई पक्राउ गरेको हो।
नागरिकता जालसाजीसँग सम्बन्धित यो मुद्दामा थप व्यक्तिहरूको संलग्नता रहेको भन्ने खुलासा भएमा उनीहरूलाई पनि कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments