मधेशमा शीतलहरको स्वास्थ्य असर : रुघाखोकी, निमोनिया र मुटुका बिरामी बढे

6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुष ११ गते ।  मधेश प्रदेशमा बढ्दो शीतलहर, चिसो हावा र बाक्लो हुस्सुका कारण स्वास्थ्य क्षेत्रमा गम्भीर असर देखिन थालेको छ । बर्दिवास र जलेश्वरका अस्पतालहरूमा चिसोबाट पीडित बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएका छन् ।

बर्दिवास अस्पतालमा दैनिक ७० भन्दा बढी चिसोबाट पीडित बिरामी आउने गरेका छन् । अस्पतालका डा. रितेश घिमिरेका अनुसार जाडो बढेदेखि रुघाखोकी र निमोनियाका दैनिक ४० भन्दा बढी बिरामी आउँछन् । त्यसपछि दम, श्वासप्रश्वास र हाडजोर्नीका ३० भन्दा बढी तथा मुटुका समस्या लिएर दैनिक ५–७ जना बिरामी आउने गरेका छन् । भर्खरै औषधी आपूर्ति भएकाले बिरामीहरूलाई खासै समस्या नभएको डा. घिमिरेले बताउनुभयो ।

जलेश्वर प्रादेशिक अस्पतालमा पनि चिसोबाट हुने बिरामीको चाप बढेको छ । डा. विकास शाहका अनुसार ज्येष्ठ नागरिकमा रक्तचाप, कठ्याङ्ग्रिने र श्वासप्रश्वासको समस्या तथा बालबालिकामा रुघाखोकी, निमोनिया र भाइरल सङ्क्रमण बढेको छ । दैनिक ओपीडीमा ८०–९० र आकस्मिक कक्षमा २०–२५ गरी सयभन्दा बढी बिरामी आउने गरेका छन् । तर निःशुल्क औषधीमध्ये करिब ५० प्रतिशत मात्र उपलब्ध भएकाले बिरामीहरूलाई थप समस्या परेको डा. शाहले जनाउनुभयो ।

मधेश प्रदेश स्वास्थ्य तालिम केन्द्रका डा. राजीव झाका अनुसार शीतलहरमा शरीरको तापक्रम घट्दा 'हाइपोथर्मिया' को जोखिम बढ्छ । यस समयमा श्वासप्रश्वास सङ्क्रमण, दम, रुघाखोकी, रक्तचाप, कान दुखाइ र भाइरल सङ्क्रमणका समस्या देखिन सक्छन् । हाइपोथर्मियाबाट बच्न अत्यावश्यकबाहेक घरबाहिर ननिस्कने, शरीर न्यानो राख्ने र झोलिलो-पोसिलो खानपानमा ध्यान दिनुपर्ने डा. झाको सुझाव छ ।

यो शीतलहरले स्वास्थ्य सेवा र औषधी आपूर्तिमा पनि दबाब बढाएको छ । स्थानीय तह र स्वास्थ्य संस्थाहरूलाई थप तयारी गर्न आवश्यक देखिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?