लहानको जेएस मुरारका बहुमुखी क्याम्पस भौतिक तथा शैक्षिक विकासमा देशकै नमूना बन्ने बाटोमा
8 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, मंसिर २६ गते । लहान वडा नं. १० स्थित सामुदायिक जेएस मुरारका बहुमुखी क्याम्पस भौतिक पूर्वाधार र शैक्षिक सुधारका कारण पुनः चर्चामा आएको छ । २०४४ सालमा तत्कालीन नगरपञ्चायत र उद्योगपति प्रमेश्वर मुरारकाको दातृत्वमा स्थापना गरिएको यो क्याम्पस यस क्षेत्रको उच्च शिक्षाको प्रमुख केन्द्रका रूपमा तीन दशकभन्दा लामो समयदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सुरुमा पशुपति आदर्श माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गरी अघि बढेको क्याम्पसका लागि तत्कालीन प्रधानपञ्च लगनलाल चौधरीले २३ विघा जग्गा व्यवस्थापन गरेपछि दाता मुरारकाले २३ कोठे दुईतले आधुनिक भवन निर्माण गरिदिएका थिए । त्यसयता क्याम्पस बिना अवरोध उच्च शिक्षाको पहुँच विस्तारमा अग्रसर हुँदै आएको छ ।
हाल क्याम्पस विज्ञान भवन, आधुनिक विज्ञान प्रयोगशाला, तथा विभिन्न सञ्जालमार्फत प्राप्त अनुदानका कारण भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोग र मधेश प्रदेश सरकारको सहयोगमा निर्मित संरचनाहरूले क्याम्पसलाई नमूना क्याम्पसका रूपमा चिनाउन मद्दत पुगेको छ । क्याम्पसमा विज्ञान, वाणिज्य, शिक्षा, कला लगायतका विषयमा स्नातकोत्तर तहसम्म करिब चार हजार विद्यार्थी अध्ययनरत छन् । भौतिक विकास र शैक्षिक गुणस्तरका लागि लहान नगरपालिका र दातृ परिवारको निरन्तर सहयोग रहेको क्याम्पस प्रमुख सञ्जय चौधरीले बताए । क्याम्पसका सञ्चालक समितिका अध्यक्ष तथा लहान नगरप्रमुख महेशप्रसाद चौधरी र दाता परिवारका प्रतिनिधि मुरारीलाल मुरारकाले क्याम्पसलाई बदलिँदो समयअनुसार प्रविधिमैत्री तथा आधुनिक शैक्षिक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments