नाबालिग बलात्कार अभियोगमा एमाले नेता शिवशंकर साह (हिरा) पक्राउ, भारतबाट ल्याइयो धनुषा

7 दिन पहिले प्रकाशित

जनकपुरधाम,मंसिर २४ गते ।  नाबालिग बलात्कारको जघन्य अभियोगमा प्रहरीले नेकपा (एमाले) का नेता तथा उद्योगी शिवशंकर साह (हिरा) लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई भारतको बिहार राज्यको सीतामढी जिल्लाबाट मङ्गलबार राति नै नियन्त्रणमा लिई धनुषा ल्याइएको हो । पीडित पक्षको उजुरीमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि साह भारततर्फ फरार भएका थिए । फरार अवस्थामा प्रहरीले निगरानी बढाउँदै भारतीय काउन्टरपार्टसँग समन्वय गरी उनलाई सीतामढीबाट समात्न सफल भएको प्रहरी नायब उपरीक्षक (एसपी) गणेशबहादुर बमले बताए ।

यो घटना गत कार्तिक २२ गते जनकपुरधाम उपमहानगरपालिका–१० जानकी चोकस्थित एक होटेलमा भएको थियो, जहाँ १३ वर्ष ४ महिनाकी नाबालिगलाई दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरिएको थियो । यसै घटनामा संलग्न अभियोगमा स्वर्गीय किशोरीलाल साहका छोरा मनोजकुमार साहलाई पहिल्यै काठमाडौँबाट पक्राउ गरिसकिएको छ । मनोजको बयानका आधारमा हिरा साहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो, जसमध्ये दुई जना अझै फरार छन् । यसैबीच, नाबालिगका मामाघर सञ्जय महासेठलाई पनि जनकपुरधामबाट पक्राउ गरिएको छ । महासेठले घटनालाई कानुनी दायरामा नलगी मिलाउने प्रयास गरेको र पीडित पक्षबाट रकम लिएको आरोप लागेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरको नेतृत्वमा अनुसन्धान भइरहेको छ र राजनीतिक दबाबका बावजुद जघन्य अपराधमा संलग्न सबैलाई कानुनको दायरामा ल्याइने प्रहरीले स्पष्ट पारेको छ ।

हिरा साह गत स्थानीय तह निर्वाचनमा एमालेको टिकटबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार थिए । उनी जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा मधेश प्रदेश उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष पनि हुन् । एमालेको आसन्न ११औँ महाधिवेशनका लागि उनी धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि छनोट भइसकेका थिए । यो घटनाले स्थानीय राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?