नेपाली सेनाद्वारा सिरहामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ४६० जनाले लिए सेवा
13 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर २२ गते । नेपाली सेनाको श्री नं. २७ वाहिनी अड्डा, चोहर्वा ब्यारेकले नागरिक–सैनिक सम्बन्ध मजबुत बनाउने उद्देश्यले सुखिपुर नगरपालिका–१० दहिपौडीमा बृहत् सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ‘नागरिक सहयोग सेवा’ कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्यअनुसार सहायक रथी समीर श्रेष्ठको नेतृत्वमा विभिन्न स्वास्थ्य संस्थाहरूसँगको सहकार्यमा श्री जनता माध्यमिक विद्यालयमा यो शिविर आयोजना गरिएको थियो । शिविरमा श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्मका चिकित्सकहरू, सगरमाथा चौधरी आँखा अस्पताल, प्रादेशिक अस्पताल सिरहा, फुलकुमारी महतो मेमोरियल अस्पताल, नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र लहान, एनसिसी अलुमनाई एसोसिएसन नेपाल तथा हिमालय सुगर मिल प्रालिको सक्रिय सहभागिता रहेको थियो ।
शनिबार सञ्चालित शिविरमा सर्पदंश, शीतलहर, आगलागी जस्ता दैवी प्रकोपहरूबारे सचेतना कार्यक्रमसँगै आँखा, दाँत, छाला, प्रसूति तथा सामान्य स्वास्थ्य सेवाहरू प्रदान गरिएको सहायक रथी श्रेष्ठले जानकारी दिए । यसबाट महिला २१६ र पुरुष २४४ गरी कुल ४६० जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । विपन्न समुदायलाई लक्षित यो शिविरले सेनाप्रति स्थानीय स्तरमा विश्वास र सकारात्मक धारणा बढाउन मद्दत पुगेको नेपाली सेनाले जनाएको छ । थप यस्ता कार्यक्रमहरूले समुदायमा स्वास्थ्य जागरण र सेना–नागरिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments