महोत्तरीबाट भारतीय नागरिक कटुवा पेस्तोलसहित पक्राउ

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, मंसिर २१ गते । महोत्तरीको एकडारा गाउँपालिका–४ हलखोरी चोकमा सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई ‘होम मेड’ रिभल्भरसहित पक्राउ गरेको छ। बर्दीबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनीका डिआईजी कृष्ण ढकालका अनुसार नियमित चेकजाँचका क्रममा भारत बिहार, सीतामढी–पटदौरा ग्राम पञ्चायतका २६ वर्षीय सरोजकुमार कुर्मीलाई नियन्त्रणमा लिइएको हो। हलखोरीस्थित बोर्डर आउटपोष्टका सशस्त्र प्रहरी निरीक्षक सुनिलकुमार दासको नेतृत्वमा खटिएको गस्तीले मरुवाहीबाट हलखोरीतर्फ आउँदै गरेका कुर्मीलाई शनिबार साँझ रोकेर जाँच गर्दा मोटरसाइकल (BR 06 AY 6172) को सिटमुनी लुकाइएका एक थान कटुवा पेस्तोल र एक गोली बरामद गरेको थियो।

पक्राउ परेका कुर्मीलाई अवैध हतियारसम्बन्धी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?