एनपीएलमा जनकपुर बोल्ट्सको जित : चितवन राइनोजलाई ६ विकेटले हराउँदै हारको श्रृंखला तोड्यो

47 मिनट पहिले प्रकाशित

जनकपुरधाम, मंसिर १६ गते । साविक विजेता जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चार हारपछि जित निकालेको छ । मंगलबार भएको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हराउँदै लिग चरणबाट बाहिरिने खतरा टारेको छ । चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । जनकपुरका ओपनर माज सदाकतले ३० बलमा ६३ रन (६ चौका, ४ छक्का) बनाए भने अनिलकुमार साहले ३६ बलमा ६१ रन (४ चौका, ३ छक्का) जोडे । आसिफ शेख १८, यान निकोल लोफ्टी इटन ११ (रनआउट) र आदित्य महताले नटआउट १८ रन बनाए । चितवनका कमलसिंह ऐरी, अमरसिंह रौटेला र सोहेल तन्विरले १–१ विकेट लिए । यो जितले जनकपुरलाई राहत मिलेको छ तर प्लेअफ पुग्न बाँकी दुवै खेल जित्नुका साथै चितवन र लुम्बिनी लायन्सले सबै खेल हार्नुपर्नेछ ।

चितवनले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । दुवै ओपनरले अर्धशतक बनाए : डेभिड मलान ५४ बलमा ८० रन (४ चौका, ५ छक्का) र अर्जुन साउद ३९ बलमा ५२ रन (४ चौका, ३ छक्का) । कुशल मल्ल नटआउट ३० रन (१४ बल, २ चौका, २ छक्का) बनाए भने सइफ जइब ७ र रवी बोपारा ३ रनमा आउट भए । जनकपुरका सदाकत, अनिल साह, रुपेश सिंह र लोफ्टी इटनले १–१ विकेट लिए । यो हारले चितवनको प्लेअफ यात्रा कठिन बनेको छ र बाँकी दुवै खेल जित्नुपर्ने भएको छ । चितवनले रिजन ढकाल र दीपक बोहारको स्थानमा सौगात ढकाल र अमरसिंह रौटेलालाई खेलाएको थियो भने जनकपुरबाट अनिलकुमार साह फर्किएका थिए र सचिन भट्टले टोलीमा स्थान बनाएका थिए । चितवन प्लेइङ ११: कुशल मल्ल, रञ्जित कुमार, देव खनाल, अर्जुन साउद, अमरसिंह रौटेला, कमलसिंह ऐरी, सौगात ढकाल, डाविड मलान, रवि बोपारा, सैफ जैब, सोहइल तन्विर । जनकपुर प्लेइङ ११: आशिफ शेख, अनिलकुमार साह, शुभ कंशाकार, सचिन भट्ट, मयन यादव, आदित्य महता, रुपेश सिंह, वायन पार्नेल, माज सदाकत, जन निकोल लफ्टी इटन, सञ्जय कृष्णमुर्ती ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?