सिरहामा डकैती प्रतिकार गर्दा बाबु–छोरा गोली लागेर घाइते, डाका समूह फरार
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर ३ गते । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा गएराति डकैती गर्न आएको समूहको प्रतिकार गर्ने क्रममा स्थानीय वीरेन्द्र महतो र उनका छोरा अनिल सिंह महतो गोली लागेर गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ८–१० जनाको नकाबधारी हतियारधारी डाका समूहले स्थानीय भोला महतोको घरमा डकैती गर्दै गर्दा भोलाले छिमेकीहरूलाई गुहार मागेका थिए। गुहारपछि वीरेन्द्र, अनिलसहितका छिमेकीहरू प्रतिकारमा उत्रिँदा डाका समूहले अन्धाधुन्ध गोली चलाएको थियो। गोली लागेर बाबु–छोरा ढलेपछि अन्य गाउँलेहरू पछि हट्न बाध्य भए र डाका समूहले डकैती पूरा गरी फरार भएको प्रहरीले जनाएको छ।
घाइते दुवैको छातीको दायाँ–बायाँ भागमा गोली लागेको छ भने उनीहरूको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। डीएसपी रमेश बहादुर पालका अनुसार डकैतीमा संलग्न समूहको पहिचान हुन बाँकी छ र उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। घटनापछि गाउँमा त्रास फैलिएको छ भने प्रहरीले थप सुरक्षा व्यवस्था कडा बनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments