जलेश्वरमा खुकुरी प्रहार गरी ६० वर्षीय वृद्धको हत्या, एक युवक पक्राउ
2 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर २ गते । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेफोरमा सोमबार साँझ धारिलो हतियार खुकुरी प्रहार गरी ६० वर्षीय बेचन राइनको हत्या भएको छ। मृतक राइनको टाउकोको पछाडि भागमा चार पटकसम्म खुकुरीले हानेर घटनास्थलमै ज्यान गएको उनका छोरा सिरातुन राइनले बताएका छन्। हत्याको केही समयपछि नै प्रहरीले मुख्य आरोपी मानिएका धनुषाको नगराइन नगरपालिका–९ फुलगामाका २० वर्षीय गुड्डू मण्डललाई जलेश्वरकै सोही वडाको अर्को टोलमा रहेको आफ्नै दिदीको घर नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ।
पक्राउ परेका मण्डल रक्सीले मातेको (नशालु अवस्थामा) रहेको र मृतक बेचन राइन कसैसँग पनि झगडा नगर्ने शान्त स्वभावका व्यक्ति भएको पीडित परिवारले जनाएको छ। हत्याको यकिन कारण अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी शैलेन्द्रकुमार भट्टले बताएका छन्। प्रहरीले घटनास्थल सुरक्षित राखी अनुसन्धान अघि बढाएको छ भने शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। थप विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments