धनुषामा महिला हत्या प्रकरण : गरगहना लुटपाटमा संलग्न महिलासहित धारिलो हतियार बरामद

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २७ गते । धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोर टोलकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरी गरगहना लुटेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार सोही टोलकी ४५ वर्षीया पवित्रा देवी मण्डललाई पक्राउ गरिएको हो। उनीमाथि दासको सुनचाँदीका गरगहना लुटपाट गरी हत्या गरेको अभियोग लागेको छ।

गत कात्तिक २४ गते राति करिब ९ बजे, दास आफ्नै घरबाट करिब पाँच सय मिटर टाढा मृत अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका क्रममा प्रहरीले पवित्राको घरबाट लुटिएका गरगहना — दुई थान झुम्का, दुई थान बाली, दुई थान मंगलसुत्र र दुई थान खुट्टाको कडा — बरामद गरेको जनाएको छ।

त्यससँगै मृतकलाई प्रहार गर्न प्रयोग गरिएको धारिलो हतियार (दाउ) पनि फेला परेको प्रहरीले जनाएको छ। हाल पवित्रा देवी मण्डललाई नियन्त्रणमा लिएर जिल्ला अदालत धनुषाबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?