जुवातास खेलिरहेका १९ जना नियन्त्रणमा, लाखौँ नगद बरामद
22 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक १६ गते । महोत्तरी प्रहरीले बर्दिबास नगरपालिका क्षेत्रका दुई स्थानमा छापा मार्दै जुवातास खेलिरहेका १९ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दुबै घटनाबाट गरी तीन लाख ६८ हजार रुपैयाँसहित तासका पत्ता, कौडा, मोबाइल फोन र अन्य सामग्री बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले गएराति १२:३० बजे बर्दिबास–५ टुटेश्वर मन्दिर नजिक छापा मार्दा १२ जनालाई रङ्गेहात पक्राउ गरेको थियो। उक्त स्थानबाट एक लाख ३२ हजार रुपैयाँ, २६ थान कौडा, तीन थान काठका बाकस र ११ मोबाइल फोन बरामद गरिएको जिल्ला प्रहरीका डिएसपी एवम् सूचना अधिकारी शैलेन्द्र भट्टले जानकारी दिए।
यसअघि पनि बर्दिबास–७ किसाननगरमा इलाका प्रहरी बर्दिबासका डिएसपी बिकास बमको टोलीले स्थानीय कर्णबहादुर तामाङको सटर भएको घरमा तलासी गर्दा सात जनालाई नियन्त्रणमा लिएको थियो। सो स्थानबाट दुई लाख ३६ हजार ५७५ रुपैयाँ, ५२ थान तासका पत्ता र एक थान सिलबन्दी बन्डल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि प्रारम्भिक सोधपुछपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले बर्दिबासका विभिन्न क्षेत्रमा जारी जुवातास नियन्त्रण अभियानलाई अझ सशक्त बनाउने तयारी गरेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments