टिचिङ अस्पतालमा अब औषधि ‘क्यापिटल लेटर’मा लेख्नुपर्ने

2 दिन पहिले प्रकाशित

काठमाडौं, असोज २४ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले आफ्ना चिकित्सकहरूलाई अब बिरामीलाई औषधि सिफारिस गर्दा ‘जेनेरिक’ नाम ठुला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन दिएको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रायका अनुसार यो निर्णय डाक्टरहरूले हतारमा औषधिको नाम अस्पष्ट लेख्दा हुने त्रुटि रोक्न र बिरामीलाई सही औषधि उपलब्ध गराउनका लागि गरिएको हो।

रायका अनुसार प्रायः डाक्टरहरू कामको चापका कारण छिटो लेख्दा औषधिको नाम बुझ्न फार्मेसीलाई समस्या हुने गर्छ, जसले कहिलेकाहीँ गलत औषधि वितरणको जोखिम बढाउँछ। उनले भने, “अब ठुला अक्षरमा औषधि लेख्दा चिकित्सकलाई अलिक समय लाग्ला, तर बिरामीले सही औषधि पाउने र प्रणाली अझ पारदर्शी हुने विश्वास गरिएको छ।”

अस्पतालले नेपाल सरकार र डीन कार्यालयको निर्देशनअनुसार यो नियम लागू गरेको हो। टिचिङ अस्पतालमा दैनिक २५०० देखि ३००० बिरामी ओपिडीमा उपचारका लागि आउने गर्छन् भने आकस्मिक कक्षमा पनि दैनिक झण्डै १६० बिरामी पुग्ने गरेको अस्पतालले जनाएको छ। नयाँ प्रणालीले डाक्टर, फार्मेसी र बिरामीबीचको संचारमा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?