नेपालले मलेसियाविरुद्ध महिला ट्वान्टी–२० शृंखला ३–२ ले जित्यो

4 दिन पहिले प्रकाशित

काठमाडौं, असोज २२ गते ।  नेपालले मलेसियाविरुद्धको महिला ट्वान्टी–२० शृंखलालाई ३–२ ले आफ्नो पक्षमा पारेको छ। बुधबार बायोमास क्रिकेट ओभलमा भएको पाँचौँ तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्‍यो। मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा रुवी पोदारले २६, पूजा महतोले २३, रुविना क्षेत्रीले अविजित १५ र सम्झना खड्काले १३ रन बनाए। मलेसियाका आइन हामिजा हसिम, नुर डानिया स्युहदा, आइसा एलिसा फिर्डाजु र नुर आल्याले समान एक विकेट लिए।

टस जितेर ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनायो। विनिफ्रेड दुराइसिंघमले ४०, माहिरा इज्जती इस्माइलले १९, आइन हामिजा हसिमले १५ र नुर डानिया स्युहदाले ११ रन जोडे। नेपालका कविता कुँवर र राजमति ऐरीले समान ३–३ विकेट लिए भने रचना चौधरीले १ विकेट हात पारिन्। यसअघि मलेसियाले पहिलो र तेस्रो खेलमा क्रमशः ३ र १३ रनले जितेको थियो भने नेपालले दोस्रो र चौथो खेलमा समान ६ विकेटले विजय हासिल गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?