वीरगन्ज शाखाद्वारा १ सय ५६ औषधि पसल बन्द, दर्जनौंमा कारबाही

14 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज १२ गते ।  औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले गत आर्थिक वर्षमा दर्ता प्रक्रियामा नआएका र अन्य अनियमितता भेटिएका १ सय ५६ औषधि पसल बन्द गरेको छ। त्यस्तै १ सय २२ औषधि पसल निलम्बनसमेत गरिएको छ। कार्यालय प्रमुख शम्भु साहका अनुसार, कारबाही मधेश र बागमती प्रदेशका विभिन्न जिल्लामा अनुगमन टोलीमार्फत गरिएको हो। निलम्बित फार्मेसीमध्ये २ थोक बिक्रेता, ८ अस्पताल र १ सय १२ सामुदायिक पसल थिए, जसमा १२ पसल पुनः दर्ता प्रक्रियामा आएका छन्।

अनुगमनका क्रममा ९२ पसल दर्ता नभएको, १ सय ८३ मा व्यवसायी वा फर्मासिस्ट अनुपस्थित रहेको र १ सय १० पसलबाट दर्ता नभएका औषधि बरामद भएको पाइएको छ। त्यस्तै, ७६ पसलमा लागुऔषधि तथा मनोद्दीपक औषधिको रेकर्ड नराखिएको, ३३ मा भ्याक्सिन उचित तापक्रममा नराखिएको, १३ मा म्याद नाघेका औषधि भेटिएको र ७ पसलमा ‘फिजिसियन सेम्पल’ बरामद भएको थियो। गत आवमा ४ सय ५० फार्मेसी निरीक्षणको लक्ष्य रहेकामा ४ सय ८६ निरीक्षण सम्पन्न गरिएको छ। कार्यालयले अनियमित कारोबारमा संलग्न १५ व्यक्ति/संस्था उपर मुद्दा दर्ता गर्नुका साथै ३५ उजुरीमध्ये १७ फर्छ्यौट गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?