अर्थमन्त्री डा. रामेश्वर खनालको घोषणा : “अनावश्यक आयोजना कटौती गरेर एक खर्ब जुटाउन सकिन्छ”

16 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ३० गते ।नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबका कारण बजेटमा समेटिएका तयारीविहीन र टुक्रे आयोजनाहरू कटौती गर्ने हो भने करिब एक खर्ब रुपैयाँ स्रोत जुटाउन सकिने बताएका छन्। सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले निर्वाचन, पुनःनिर्माणलगायतका आवश्यकता पूरा गर्न बजेट पुनःसंरचना गर्ने योजना प्रस्तुत गरे। यसका लागि उनले बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरी प्राथमिकता निर्धारण गर्ने जिम्मेवारी दिएका छन्।

खनालले जेनजी प्रदर्शनका कारण सिंहदरबार र सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको उल्लेख गर्दै तत्काल भग्नावशेष हटाई भित्तामा रंगरोगन गरी “विनाशबाट उठ्ने सन्देश” दिन आवश्यक भएको बताए। उनले खर्चमा मितव्ययिता अपनाउँदै नयाँ सवारी साधन खरिद नगरी कवाडी बेच्ने, सार्वजनिक सम्पत्तिको दुरुपयोग नगर्ने र निजी क्षेत्रलाई विश्वासमा लिएर राजस्व असुलीलाई सहज बनाउने योजना अघि सारे। साथै, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै सार्वजनिक खर्च व्यवस्थापनलाई प्राथमिकतामा राख्ने बताए। यस अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले जेनजी आन्दोलनका कारण ६८ बैंक शाखा र ६९ एटीएममा क्षति पुगेको जानकारी दिँदै केन्द्रीय बैंक सक्दो सहयोग गर्न तयार रहेको आश्वासन दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?