जेनजी आन्दोलनपछि पर्सामा जनजीवन सामान्यतर्फ, विद्यालय र कार्यालय पुनः सञ्चालनमा
2 दिन पहिले प्रकाशित

जनकपुरधाम,भदौ २९ गते । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले अस्तव्यस्त बनेको पर्साको जनजीवन बिस्तारै सामान्यतर्फ फर्किन थालेको छ। आन्दोलनका कारण ठप्प बनेको सरकारी सेवा प्रवाह र विद्यालयको पठनपाठन कार्य आइतबारदेखि पुनः सुरु हुने भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले प्रभावित कार्यालयलाई ‘सर्भिस डेलिभरी प्लान’ तयार गरी चाँडै सेवा पुनः सुचारु गर्न निर्देशन दिएका छन्।
वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखाले विद्यालय खुलाउने, कक्षाकोठा तथा शौचालय सफा गर्ने र खानेपानीको ट्याङ्कीमा क्लोरिन प्रयोग गर्ने आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले पनि शनिबारदेखि निषेधाज्ञा खुकुलो पार्दै रातिको समयमा मात्र कर्फ्यु कायम राखेको छ। बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढ्दै गएको देखिएको छ, जसले आन्दोलनपछिको पर्सा क्रमशः सामान्यतर्फ फर्किँदै गएको संकेत दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments