विद्यालय पोशाकमै होटल जाने विद्यार्थीलाई रोक्न हिसान धनुषाको अपिल
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ २० गते । जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका माध्यमिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत अधिकांश विद्यार्थीहरु गाउँबाट अध्ययन गर्न जनकपुरमा डेरा लिई बस्ने गरेका र पढ्ने बाहानामा विद्यालय/क्याम्पस ड्रेस लगाएरै युवायुवतीहरु होटलमा गई जन्मदिन मनाउने, अभद्र व्यवहार देखाउने, मनोरञ्जनका नाममा फजुल खर्च गर्ने, अश्लील टिकटक तथा भिडियो बनाउने र केही समयका लागि कोठा भाडामा लिई अश्लील हर्कत गर्ने जस्ता सामाजिक विकृति फैलाउने र विद्यालय/क्याम्पस लगायत अभिभावकको समेत प्रतिष्ठामा आघात पुग्ने कार्य गर्ने गरेको पाइएकोले उक्त गलत क्रियाकलापहरु रोक्नका लागि मिति २०८२।०४।१६ गते बसेको हिसानको बैठकबाट सम्पूर्ण विद्यालय/क्याम्पसले पहल गर्ने निर्णय गरेको छ । उक्त कार्य सफल पार्नका लागि होटल व्यवसायी संघको आवश्यकता पर्ने भएकोले सहकार्य गरी अघि बढ्ने वातावरण मिलाइदिन हिसानका अध्यक्ष संजीव कुमार ठाकुरले आज होटल तथा पर्यटन व्यवसायी संघ धनुषाका अध्यक्ष रुपेश सिंह लाई ज्ञापन पत्र बुझाएका छन् । विज्ञप्तीमा उपर्युक्त क्रियाकलाप हुने होटल, रेष्टुरेण्ट तथा लजहरुलाई कडा निर्देशन गरी विद्यालय/क्याम्पस ड्रेसमा रहेका विद्यार्थीहरुलाई उक्त सुविधा उपलब्ध नगराउन निर्देशन तथा आवश्यक परिपत्र गराइदिनु हुन पनि अनुरोध गरिएको छ ।
त्यस्तै अध्यक्ष ठाकुरले आजै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई समेत एक विज्ञप्ती दिई जनकपुर शहर भित्र रहेका पसलहरुले स्कुल कलेजका ड्रेसमा रहेका विद्यार्थीहरुलाई चुरोट, खैनी, गुटखा लगायत अन्य स्वास्थ्य र समाजमा प्रतिकुल प्रभाव पार्ने वस्तुहरु विक्रि वितरण नगरिदिन समेत अनुरोध गरिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments