सर्लाहीमा पहिलोपटक डायलासिस सेवा, नगर अस्पताल बयलबासमा तयारी तीव्र

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ २० गते । सर्लाहीको ईश्वरपुर नगरपालिकाले नगर अस्पताल बयलबासमा पहिलोपटक डायलासिस सेवा सुरु गर्ने तयारी अघि बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आवश्यक उपकरण प्राप्त भइसकेको र प्रारम्भिक चरणमा आरो प्लान्ट तथा आवश्यक मोटर–फिल्टर जडान भइरहेको नगरप्रमुख मनोजकुमार आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार यस सेवाले मिर्गौला पीडितलाई जनकपुर, वीरगन्ज वा नारायणगढ पुग्ने बाध्यता हटाई आफ्नै नगरमै उपचारको सहज पहुँच दिलाउनेछ।

नगरपालिकाले हेल्पिङ ह्यान्डको सहयोगमा तीन करोड रुपैयाँ बराबरको सामग्री सुनिश्चित गर्ने र राष्ट्रिय मिर्गौला केन्द्रसँग समन्वय गरी स्वास्थ्यकर्मीलाई तालिम दिने तयारीसमेत गरेको छ। हाल दुई वटा डायलासिस मेसिनबाट सेवा प्रारम्भ गर्ने योजना रहेको र केही महिनाभित्रै संख्या पाँच पुर्‍याउने लक्ष्य लिइएको स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोले बताउनुभयो। नगर अस्पतालले डायलासिस सञ्चालनका लागि दुई सय केभी क्षमताको ट्रान्सफर्मर जडान गरिसकेको र बिरामीको चापअनुसार सेवा सञ्चालनका मापदण्ड तुरुन्त तयार पारिने नगरप्रमुख आचार्यको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?