शिक्षा विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूको आन्दोलन, १८ भदौदेखि विद्यालय बन्द गर्ने चेतावनी

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ १२ गते । विद्यालय शिक्षा विधेयक सच्याउन दबाब दिँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनलाई कडा बनाउने घोषणा गरेका छन्। प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्त रूपमा १८ भदौदेखि विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन्। उनीहरूले विधेयकमा राखिएका गैरनाफामूलक प्रावधान र पूर्ण छात्रवृत्ति सम्बन्धी व्यवस्था हटाउनुपर्ने माग अघि सारेका छन्। आन्दोलनको पहिलो चरण सकिएसँगै दोस्रो चरणका कार्यक्रम देशभर सञ्चालन गरिने जनाइएको छ।

घोषित कार्यक्रमअनुसार १२ भदौमा देशव्यापी खबरदारी सभा, १६ भदौमा स्कुलबसमा कालोझण्डा सहितको प्रदर्शन र १८ भदौमा पुनः सदरमुकामस्तरमा सभा गर्ने कार्यतालिका छ। १८ भदौसम्म पनि माग सम्बोधन नभएमा अनिश्चितकालीन विद्यालय बन्द गरिने चेतावनी आन्दोलनरत संगठनहरूले दिएका छन्। काठमाडौं उपत्यकामा माइतीघर मण्डलाबाट र्‍याली निकालेर कोणसभामा परिणत गर्ने योजना समेत छ। निजी विद्यालय सञ्चालकहरूले सरकारलाई तत्काल गम्भीर संवादमा आउन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?