कुलमान घिसिङ : “नेपाल क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसरमा”

12 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ११ गते । नेपाल विद्युत प्राधिकरणका पूर्व–प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसमक्ष क्षेत्रीय ऊर्जा केन्द्र बन्ने ऐतिहासिक अवसर आएको बताएका छन्। दक्षिण–पूर्वी लन्डनमा आयोजित ‘नेपालको ऊर्जा क्षेत्रका चुनौती र सम्भावना’ विषयक छलफलमा उनले करिब एक दशकअघि दैनिक १८ घण्टासम्मको लोडसेडिङको पीडा भोगेको नेपाल अहिले संस्थागत सुधार, दक्ष ऊर्जा व्यवस्थापन र सेवाप्रतिको प्रतिबद्धताका कारण ऊर्जा सुरक्षामा सक्षम बनेको स्मरण गराए। उनका अनुसार विद्युत् पहुँच ५६ प्रतिशतबाट झन्डै १०० प्रतिशतमा पुगेको छ, प्राधिकरण घाटाबाट नाफामा आएको छ र नेपाल आज भारत तथा बङ्गलादेशमा विद्युत् निर्यात गर्ने मुलुकको रूपमा उभिएको छ।

घिसिङले नेपालको जलविद्युत् यात्रा ११५ वर्षअघि फर्पिङ र सुन्दरी जलविद्युत् आयोजनाबाट सुरु भएको उल्लेख गर्दै आज ३,८०० मेगावाटभन्दा बढी क्षमता स्थापना भइसकेको र हजारौँ मेगावाट निर्माणको क्रममा रहेको जानकारी दिए। उनले सन् २०३५ सम्ममा २८,५०० मेगावाट उत्पादन गर्ने र त्यसमध्ये १५,००० मेगावाट निर्यात गर्ने लक्ष्य रहेको बताए। भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता भइसकेको, बङ्गलादेशमा निर्यात सुरु भइसकेको र भुटानसहितको क्षेत्रीय ऊर्जा मार्ग खुल्न थालेको उनले बताए। चीनसँग भविष्यमा ऊर्जा व्यापार गर्ने सम्भावना पनि रहेको घिसिङको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?