सप्तरीका ६ स्थानीय तह अझै बजेटविहीन

5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ४ गते । आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि सप्तरीका दुई नगरपालिका र चार गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी प्रावधान भए पनि राजविराज र डाक्नेश्वरी नगरपालिका तथा छिन्नमस्ता, अग्नीसाइर कृष्णसवरण, महादेवा र बलान बिहुल गाउँपालिकाले अझै बजेट पेस गर्न सकेका छैनन्। जनप्रतिनिधिबीचको द्वन्द्व, योजनाको बाँडफाँडमा देखिएको किचलो, कर्मचारीको निलम्बन र आन्तरिक असमञ्जस नै प्रमुख कारण बनेको जनप्रतिनिधिहरूले बताएका छन्।

राजविराजमा कार्यपालिका बैठक नै बस्न नसकेकाले तयारी अघि बढेको छैन भने डाक्नेश्वरीमा जनप्रतिनिधि र कर्मचारीबीच समन्वय टुटेपछि प्रक्रिया अल्झिएको छ। छिन्नमस्ता गाउँपालिकामा ‘कमिसन’ को हिसाब–किताब नटुंगिँदा ढिलाइ भइरहेको स्रोतले जनाएको छ। त्यस्तै, अग्नीसाइर कृष्णसवरणमा अध्यक्ष–उपाध्यक्षबीच योजनाको बाँडफाँड नटुंगिँदा बजेट अड्किएको छ। महादेवा र बलान बिहुलमा भने वडास्तरमै बजेट बाँडफाँडको तानातानले काम रोकिएको हो। सप्तरीका १८ स्थानीय तहमध्ये ११ ले तोकिएको समयमा बजेट ल्याइसकेका छन् भने अन्य ६ ले अझै बजेट पेस गर्न नसकेका हुन्।

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?