मुख्यमन्त्री सिंहको प्रतिबद्धता — सरकारी अस्पतालको सेवा सुधार र अवैध निजी अस्पतालमाथि कडाइ
8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी अस्पतालप्रति आमनागरिकको विश्वास कायम राख्न छिटो, विश्वसनीय र गुणस्तरीय सेवा दिनुपर्ने आवश्यकता औंल्याएका छन्। गौरस्थित प्रादेशिक अस्पतालको मातृ–शिशु स्वास्थ्य (एमसीएच) क्लिनिक र चमेनागृह उद्घाटन गर्दै उनले न्यूनतम खर्चमा उपचार सुविधा उपलब्ध गराउने वातावरण निर्माणमा स्वास्थ्यकर्मीलाई सक्रिय हुन निर्देशन दिए। साथै, गौर प्रादेशिक अस्पतालमा नर्सिङ शिक्षा सुरु गर्न पहल गर्ने प्रतिबद्धतासमेत जनाए।
मुख्यमन्त्री सिंहले गैरकानुनी रूपमा सञ्चालन भएका धेरै निजी अस्पताल बन्द गराइसकेको र मापदण्ड नपुगेका स्वास्थ्य संस्थामाथि निरन्तर अनुगमन हुने बताए। उनका अनुसार, केही स्थानीय तहले मापदण्डबिना नै निजी अस्पताललाई अनुमति दिइरहेका छन्, जसलाई रोक्न आवश्यक कदम चालिनेछ। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले संघीयता लागू भएपछि अस्पताल सेवामा आएको परिवर्तन उल्लेख गर्दै थप सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
कमेन्ट गर्नुहोस्
view comments