भारतलाई नेपालका पाँच जलविद्युत् आयोजनाबाट थप २०० मेगावाट निर्यातको अनुमति, कुल क्षमता १०५०.९ मेगावाट पुग्यो

2 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण २७ गते । भारत सरकारले नेपालका पाँच जलविद्युत् आयोजनाबाट थप २०० मेगावाट विद्युत् खरिद गर्न सहमति दिएको छ। यसअघि अनुमति प्राप्त ८१०.९ मेगावाटमा यो थपिएपछि भारततर्फको कुल निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। बंगलादेशतर्फ निर्यात हुने ४० मेगावाट सहित नेपालको कुल निर्यात स्वीकृति १०५०.९ मेगावाटमा पुगेको हो। पछिल्लो स्वीकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबरसम्मका लागि दिइएको हो, जसअन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोला आयोजना समावेश छन्।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको थियो। भारततर्फको यो नयाँ अनुमति र आगामी दिनमा थप स्वीकृति प्राप्त हुने सम्भावनाले गर्दा चालु आर्थिक वर्षमा निर्यात दोब्बर हुने अनुमान गरिएको छ। यसले ऊर्जा व्यापारबाट नेपालको वैदेशिक आम्दानीमा उल्लेख्य वृद्धि गर्ने प्राधिकरणको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?