जनकपुरधाम, असार २६ गते । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै उच्च बजेट खर्च गर्दै ७१ दशमलव ४८ प्रतिशत खर्च गरेको छ। बुधबार रातिसम्मको अन्तिम भुक्तानी अवधिमा प्रदेश सरकारले ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार रुपैयाँ खर्च गरेको हो।
मधेश सरकारले चालु वर्षका लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो। अर्थ सचिव रामकुमार महतोका अनुसार कुल खर्च गत आर्थिक वर्षको तुलनामा १४.२८ प्रतिशतले बढी हो। गत वर्ष सरकारको खर्च ५५ दशमलव ७५ प्रतिशतमा सीमित थियो।
पुँजीगत खर्चतर्फ २८ अर्ब ६१ करोड २० लाख ७४ हजार रुपैयाँ बजेटमध्ये २१ अर्ब ४९ करोड ७९ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ, जुन कुल पुँजीगत बजेटको ७५ दशमलव ६४ प्रतिशत हो।
त्यस्तै, चालु खर्चतर्फ १५ अर्ब २८ करोड ९६ हजार रुपैयाँ बजेटमध्ये ९ अर्ब ८७ करोड ७३ लाख १२ हजार रुपैयाँ खर्च गरिएको छ। यो कुल चालु बजेटको ६४ दशमलव ६४ प्रतिशत हो।
यस वर्ष २८ दशमलव ५२ प्रतिशत बजेट मात्र फ्रिज भएको छ, जुन अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय सुधार हो। आर्थिक वर्ष २०७९/८० मा ५७.४२ प्रतिशत र २०८०/८१ मा ५५.७५ प्रतिशत मात्रै बजेट खर्च हुन सकेको थियो।
सचिव महतोका अनुसार खर्चमा आएको यो सुधार प्रशासनिक संयोजन, निगरानी र कार्यान्वयन क्षमताको वृद्धि भएको संकेत हो। यद्यपि विश्लेषकहरू भन्छन्— अबको प्राथमिकता बजेटको गुणस्तरीय उपयोग सुनिश्चित गर्नु हुनुपर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments